Search This Blog

Tuesday, May 22, 2012

मुक्तक र कविता

मुक्तक
बुद्धिमानी खोजेका थियौं मनकै काले परेछ ऊ ।
लेख्न भनी पठाएको कस्तो चोथाले परेछ त्यो ??
न अण्डा पार्छ न चल्ला कोरल्छ मात्रै दाना पचाउँछ,
चार चार वर्ष ओथारा बस्ने नपुङ्सक भाले परेछ त्यो ।।

बादलले सडक धुन्न भन्ने थाहा छैन ?
धर्तीले आकाश छुन्न भन्ने थाहा छैन ??
भो भयो अति भयो, चिन्ता नगर अब
बाँदरले सरकार हुन्न भन्ने थाहा छैन ??

राजा काट्यौँ राजाहरू पलाए ।
भाग बण्डा गरेर देश चलाए ।।
अनुहार उस्तै झुक्किनु झुक्कियौं
तर हनुमानले सारा नेपाल जलाए ।।

भिषाबिना विदेश जान पाउँछ, किनकी ऊ सभासद हो ।
मसाज केन्द्रमा पनि सम्मान पाउँछ, किनकी ऊ सभासद हो ।।
जनता सभासद होइन, सभासद पनि जनता होइन,
अस्पतालमा रक्सी खान पाउँछ, किनकी ऊ सभासद हो ।।

भुँडी बढाएर मञ्चमा आसन ग्रहण गर्दैनौं ।
काम बिताएर घरको, भाषण ग्रहण गर्दैनौं ।।
स्वतन्त्र छौं सधैं, सधैं स्वतन्त्रै बाँच्छौं,
छोटे राजाहरूको अब शासन ग्रहण गर्दैनौं ।।

निगुराको भाउ बाँसभन्दा माथि छ ।
एक माना चामलको मूल्य झण्डै दुई पाथी छ ।।
धन्य सरकार, धन्य विकास, गर्व गर्छौँ हामी,
हाम्रो देशको एउटा मन्त्री चिम्पान्जी झैं जाती छ ।।

हाँस आमा
नेपाल आमा पीडाले आज नरोऊ यसरी ।
सन्तान हामी खुसीले पाल्छौं मायाले बेसरी ।।
काँक्राको चिरा चिरेझैं हामी देशलाई चिर्दैनौं ।
जन्मेको देश छोडेर हामी विदेश छिर्दैनौं ।।

मेची र काली तराईका बाली हिमाली गुँराश ।
फरक जाति फरक भाषा क्या मीठो सुवास ।।
अखण्ड मेरो नेपाल भए म हुन्छु नेपाली ।
हाँस न आमा एकफेर हाँस सन्तान उचाली ।।

फरक राज्य हामीले माग्नु आमालाई धक्का हो ।
कालो न सेतो जुन रङ्ग भए नि नेपाली पक्का हो ।।
तिमीले हाँसे हामी नि हाँस्छौँ नेपाली भएर ।
युग युगसम्म खुसीले नाच्छौँ तिमीलाई पाएर ।।


जीवन
नमान पीडा नबने दुःखी तिमी ।
जुधेर बाँची बन लौ रिमीझिमी ।।
म हाँस्छु आहा रसराग फूलको ।
भरी घडा आज पवित्र मूलको ।।

गुँरास फुल्दा वन बल्छ दीप झैं ।
हिमाल बोल्यो पिरती समीप भै ।।
सुटुक्क खेली जलमा रमाउँदै ।
म खोज्छु माया मन यो समाउँदै ।।

गरे सफा बात तिमी म देवता ।
विचार पोखी पख पूर्ण सभ्यता ।।
निरास कतै नबने दुःखी पनि ।
गरे सबै काम सदा खुसी बनी ।।

No comments:

Post a Comment